आइसीसी टी-२० क्रिकेट : नेपाल विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश


काठमाडौं – आइसीसी टी-२० क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा आज सोमबार भएको समूहको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।

क्यानडालाई हराएसँगै नेपाल समूह बीको शीर्ष स्थानमा रहँदै चारमा प्रवेश गरेको छ । नेपाल ३ खेलबाट ६ अंक जोड्दै समूहको शीर्षमा रह्यो। क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको साझेदारीले सामान्य लक्ष्यको जित भेट्टायो । भुर्तेलले ३३ र ऐरीले २८ रन बनाए । आसिफ सेख १६ बलमा एक चौका र एक छक्का हानेर १७ रन बनाउँदै आउट भए । त्यसअघि टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले क्यानडालाई १५ ओभरमा ८० रनमा अलआउट पारेको थियो ।

नेपालले अब सेमिफाइनलमा मंगलबार यूएईको सामना गर्ने छ । यूएईविरुद्ध जित हात पारे नेपाल अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछ।

प्रतिक्रिया