ओलीले खोसेका प्रचण्डका ‘किचन क्याबिनेट’ सदस्यहरू


काठमाडौं– मोहन वैद्यसँग लामो सहकार्य नगरी तत्कालिन नेकपा माओवादी केन्द्र बनाएर प्रवेश गरेका रामबहादुर थापा बादल नेपाल कम्युनिस्ट पार्टीको विभाजनको संघारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्याए।

ओली नेतृत्वको नेकपामा उनको प्रवेशले प्रचण्डको विश्वासमा धक्का मात्र लागेको छैन, उनको प्रवेशले भगीरथ प्रयत्न पनि नष्ट भएको छ। ओलीसँग बिमति राख्ने माधवकुमार नेपाल, झलनाथ खानाललाई अलग बनाउन सफल प्रचण्डका लागि एउटा सौदाबाजी जस्तो भयो, नेकपा विभाजनको संघार।

‘बादल आवश्यकताका आधारमा प्रचण्डसँग जोडिनु भएको थियो। खाली लेनदेनको राजनीति गर्ने, उपयोग गर्ने र आन्दोलनलाई विघटन गर्नेतिर लागेपछि प्रचण्डको साथ छाड्न बाध्य हुनुभयो’, स्रोतले भन्यो।

बादलमात्र होइन, प्रचण्डलाई अन्तिमसम्म पनि सहयोग गरेका नेताहरू पनि ओली कित्तामा समाहित भए।

उद्योगमन्त्री समेत रहेका लेखराज भट्टले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने प्रचण्डको तत्कालिन कदमकै विरोध गरेका थिए। सुदूरपश्चिममा भीम रावललाई नेता मानेर भट्टलाई वास्ता नगरेपछि नै प्रचण्डसँग उनले दूरी कायम गरेका थिए। त्यहाँमाथि एकीकरणको मर्म नबुझी बिचैमा सरकार गिराउने प्रचण्डको खेलसँग उनको असन्तुष्टि थियो। ‘अहिले प्रधानमन्त्रीको राजीनामा माग्ने बेला थिएन, एकता बलियो होसु भन्ने चाहेको हो तर प्रचण्डको आनीबानी थाहा भएर साथ छाडियो’, उनले भनेका थिए।

पार्टी विभाजन भएर नयाँ शक्ति बन्दा पनि डा. बाबुराम भट्टराईको नजिक मानिएका टोपबहादुर रायमाझीले प्रचण्ड रोजेका थिए। प्रचण्डले गतिलो व्यवहार नगरेपछि बलियो कसीका रुपमा उनले यसपटक ओलीलाई रोजे। मंगलबार भएको केन्द्रीय समितिको बैठकमा स्वागत मन्तव्य राख्दै उनले प्रचण्डले अनैतिक काम गरेको भनी स्पष्ट बताइदिए।

एकताको सुत्रमा उभिनका लागि सँधै अपिल गरिरहेका मणि थापाले प्रचण्डलाई स्वीकार गर्न मानेनन्, ओलीको कदममा सहमति जनाए। कारण थियो, प्रचण्डको अति अस्वस्थ्य राजनीतिक चालबाजी। ‘पदका लागि मरिहत्ते कम्युनिस्ट आन्दोलनको धेय होइन, थिएन। यसैले प्रधानमन्त्री रोज्नुभयो’, उनीनिकट स्रोतले भन्यो।

तत्कालिन एमाले हुँदा पनि नेपाल र खनालसँग त्यति गठजोड नभएका ओलीले आफ्ना किचेन क्याबिनेटमा रहेका नेतासँगै प्रचण्डका अन्य नेता खोसिदिए। ‘ओलीमा राजनीतिक ताकत छैन भन्ने भ्रम थियो, यो विभाजनमा त नेपाल पहिलेदेखि नै लागेका थिए नयाँ कुरा भएन। तर प्रचण्डसँग नेताहरू एकमुष्ट हुन्छन् भन्ने भ्रमचाहिँ चिरिएको छ’, ओली निकट नेता भन्छन्।

प्रधानमन्त्री ओलीको पार्टी पनि प्रभावशाली नेताको ठूलै गोलमेचका रुपमा स्थापित हुने लयमा लागेको छ। ओलीसँग यसअघि नै ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङलगायतका नेता त छँदै थिए। जानकारहरू भन्छन्,‘नेकपाको विभाजन भयो भने यो निक्कै रोमाञ्चित जस्तो पनि देखिने अवस्था आयो।’  

प्रतिक्रिया