

दोस्रो पटक प्रचण्डसँग बादलको बिद्रोह, पटक–पटक फकाउँदा पनि मानेनन्

काठमाडौं– नेकपा नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले दोस्रो पटक राजनीतिक असहमति राख्दै पुष्पकमल दाहाल प्रचण्डसँग विद्रोह गरेका छन्।
नेकपाका कुनै पनि भेलामा सहभागी नभएका उनलाई आफ्नो समूहमा आउनका लागि पटक–पटक प्रचण्डले गरेको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगे।
विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका बादल बुधबार रातीदेखि नै ओलीलाई साथ दिने मुडमा थिए। तर प्रचण्डपक्षले भने बादल आफ्नो समूहमा आउने दाबी गरेको थियो।
प्रचण्डले मन्त्री क्वार्टर पुल्चोकमा पुगी निक्कै पटक बादललाई साथ दिनका लागि आग्रह गरेका थिए। तर सरकारविरुद्ध छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने र गिराउने खेलमा प्रचण्ड सक्रिय भएपछि त्यसलाई समर्थन गर्न नसकिएको बादलसम्बद्ध स्रोतले जनाएको छ।
त्यसबेला रहेको एकीकृत नेकपा माओवादी विभाजन हुँदा बादल मोहन वैद्य किरण समूहमा पुगेका थिए। ०७२ सालमा बादलसहितको एकता भएपछि पार्टीको नाम नै नेकपा माओवादी केन्द्र रहेको थियो।
बादल समूहका कतिपय नेता भने प्रचण्ड र माधवकुमार नेपाल समूहमा छन्।

