

अझै बढेन फूलको व्यापार

काठमाडौँ–कोरोनाको त्रास कायमै रहेकाले फूल क्षेत्रको व्यापारले अझै गति लिन सकेको छैन । त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य क्षेत्र विस्तारै खुला हुन थाले पनि फूलको व्यापार भने हुन सकेन । मानिसहरूमा क्रय शक्ति कम भएको, कुनै विशेष कार्यक्रम नभएको तथा यो वर्षको लागि विवाहको लगन पनि सकिन लागेकाले फूलको व्यापार हुन नसकेको बताइएको छ । कोरोना शुरु हुनुभन्दा पहिले दैनिक रु ३५ लाखसम्म फूलको आर्थिक कारोवार हुने गरेको थियो । अहिले दैनिक रु पाँच लाखको मात्रै कारोवार हुने गरेको छ ।
पछिल्लो समय मठ मन्दिर विस्तारै खुले पनि होटल र पर्यटन व्यवसाय सञ्चालनमा नआएकाले यस क्षेत्रले गति लिन नसकेको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । पछिल्ला वर्षहरूमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हँुदै गइरहेको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । यस वर्षको तिहारमा पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएको र उत्पादन पनि राम्रो भएको तर बजार नपाएको व्यवसायीको गुनासो छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।
अघिल्ला वर्षमा वार्षिकरूपमा रु दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको थियो । चालु आवमा रु तीन अर्बको फूलको कारोवार हुने अनुमान गरे पनि कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । यसअघि कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दथ्यो ।
विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ । काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् । हरेक वर्ष तिहारलाई लक्षित गरी हुने गरी आयोजना गरिने ‘गोदावरी पुष्प मेला’ कोरोना भाइरसको कारण यस वर्ष भएन ।
(रासस)

