पूर्वराजा ज्ञानेन्द्र आइतबार जाने, चार दिनपछि हिमानी पुग्ने


काठमाडौं– नेपालमा राजनीतिक विवाद उत्कर्समा पुगेको तथा राजसंस्था र हिन्दूत्व पक्षधरको पनि प्रदर्शन चलिरहेका बेला पूर्वराजा आइतबार निर्मलनिवासबाट निस्कने भएका छन्।

पूर्वरानी कोमल शाहसहित उनी झापाको दमकमा रहेको हिमालयन टिस्थित निवासमा पुग्ने भएका हुन्। पूर्वराजा परिवारसहित हरेक हिउँदमा झापा पुग्दै आएका छन् तर यस पटकको बसाई भने अर्थपूर्ण र राजनीतिक हुने बताइएको छ।

उच्च स्रोतका अनुसार झापा बसाईका क्रममा उनले राजावादी संघ संस्थाका प्रतिनिधिसहित राप्रपाका नेता कार्यकर्तालाई पनि भेट्नेछन्। कतिपयले भने अहिले मूलधारमा रहेका नेकपा र कांग्रेसलगायतका दलका नेतालाई पनि उनले झापामा भेट्नेछन्।

पूर्वराजा ज्ञानेन्द्र पुगेको चार दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा पुग्नेछिन्। त्यसपछि पूर्वराजपरिवारको भारत भ्रमण हुने बताइएको छ।

झापादेखि बागडोग्रा हुँदै नयाँ दिल्लीसम्मको भ्रमण हुने तयारी भएको बताइएको छ। निर्मलनिवासले भने भारत भ्रमणको विषयमा केही खुलाएको छैन। भारतीय जनता पार्टी र राष्ट्रिय स्वयम् सेवक दल –आरएसएस)का पश्चिम बंगाल प्रतिनिधिहरूले पूर्वराजपरिवारको भारत भ्रमणको तालिका मिलाइरहेको उच्च स्रोतको दाबी छ।

नेपालमा राजनीतिक अस्थिरता सुरु भएको र संघीयता समेत खारेज हुन सक्ने अवस्थिति देखेपछि पूर्वराजा ज्ञानेन्द्र कुटनीतिक रुपमा पनि सक्रिय हुन थालेको बताइएको छ। यसअघि पूर्वराजाले केही बर्षका अन्तरालमा माल्दिभ्स, श्रीलंका र थाइल्यान्डमा भारतीय जनता पार्टीका उच्च अधिकारीसँग भेट गरेका थिए।

सो भेटका क्रममा पूर्वयुवराज्ञी हिमानी पनि सरिक थिइन्। भारतीय अधिकारीहरूले निरन्तर रुपमा पूर्वराजालाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको थियो।

प्रतिक्रिया