

नेकपा विभाजनपछि पार्टीको सम्पत्ती कसको पोल्टामा? तत्कालिन माओवादीको ऋण कसले तिर्ने?

काठमाडौं– लगभग विभाजनको घोषणामात्र बाँकी रहेको नेपाल कम्युनिस्ट पार्टीका दुई खेमामा पार्टी कार्यालय कब्जा र सम्पत्तीका विवाद सुरु भएका छन्।
एकीकरणका सबै काम नसकिई विभाजन घोषणा मात्र बाँकी रहेको नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहबीच आर्थिक विवाद बढ्ने आँकलन गरिएको छ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा ओली समूहले ताला लगाइसकेको छ भने विभिन्न जिल्ला कार्यालयमा तालाबन्दी गर्ने क्रम सुरु भएको छ। ‘अब नेकपाबीच कार्यालय र सम्पत्ती विवादले झडप हुनसक्छ’, स्रोतले भन्यो।
एकीकरणपूर्व तत्कालिन नेकपा एमालेको खातामा करोडौं रकम जम्मा छन् भने तत्कालिन माओवादी साढे ८ करोड ऋणमा थियो। एकीकरण पूरा नभई नै विभाजनका लागि प्रचण्ड अग्रसर भएपछि त्यो ऋण पनि उनकै टाउकोमा हुनुपर्ने ओली पक्षको दाबी छ। एक नेता भन्छन्,‘तत्कालिन एमालेभित्र खेलेर विभाजन गराउने, त्यो आधिकारिक पार्टी होइन। धन ल्याएको भए पनि फिर्ता हुने थियो, ऋण पनि फिर्ता लानुपर्छ।’
एक नेताका अनुसार सम्पत्ती र ऋण एकताको प्रक्रियामा नटुंगिएका कारण स्पष्ट आ–आफ्नै खातामा रहेको बताइन्छ। एमाले ब्युँतिएको खण्डमा उक्त सम्पत्ति र पार्टी कार्यालयका काजजात सबै उसैको हुनेछ।
‘त्यसै कारण पनि माधव नेपालहरू एमाले ब्युँतिन सक्तैन भनी कुर्लिरहेका हुन्। यो स्पष्ट छ’, उच्च स्रोतले भन्यो।

