

एमसीसी संसदमा आज टेबल नहुने

काठमाडौं – अमेरिकी सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन्स (एमसीसी) आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।
बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो। सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड यसबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउन बालुवाटार पुगेका थिए ।
माओवादी केन्द्रको आज (बुधबार) बिहान बसेको बैठकले एमसीसी अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्ने निर्णय गरेको थियो ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएकाे छ ।

