भारतमा घट्न थाल्यो कोरोना संक्रमित, २४ घण्टामा २७ हजार जनामा संक्रमण
नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ ।
सरकारी अधिकारीहरुले मङ्गलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४०९ जना नयाँ संक्रमित फेला परेका छन् ।
सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ८१७ रहेको छ । एकै अवधिमा कोरोना भाइरसबाट नयाँ संक्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ ।
अधिकारीहरुका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख २३ हजार १२७ रहेको छ । अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने चार करोड १७ लाख ६० हजार ४५८ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ३४७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन ।