

क्यानडामा विरोध प्रदर्शन रोक्न प्रधानमन्त्री ट्रुडोद्वारा आपतकालीन शक्तिको प्रयोग

एजेन्सी – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार विरोध प्रदर्शन रोक्नका लागि आपतकालीन शक्तिको प्रयोग गरेका छन् । अमेरिकासँग जोडिएको सीमा बन्द गरिएका छन् ।
आपतकाल अधिनियमअन्तर्गत सरकारले प्रदर्शनकारीको कोषमा कटौती गर्ने उद्देश्यले यस्तो कदम उठाएको हो । क्यानडामा ५० वर्षमा पहिलो पटक आपतकाल लगाइएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार प्रधानमन्त्री ट्रुडोले मिडियासँगको कुराकानीमा भने, ‘यसरी नाकाबन्दी गर्दा हाम्रो अर्थव्यवस्थामा हानी पुगिरहेको छ र सार्वजनिक सुरक्षालाई पनि खतरामा पारिएको छ । हामी अवैध र खतरनाक गतिविधिलाई जारी राख्न अनुमति दिन सकिँदैन, न कहिले दिनेछौँ ।’
यस्तै क्यानेडियन सिभिल लिबर्टिज असोसिएशनले भनेको छ, ‘सरकारले आपतकालीन अधिनियम लागू गर्ने मापदण्ड पूरा गरेको छैन । आपतकालीन अधिनियमको उद्देश्य ‘सम्प्रभुता, सुरक्षा र क्षेत्रीय अखण्डता’ को खतरासँग जुध्नका लागि लागू गरिन्छ ।’
यो प्रदर्शन त्यतिबेला सुरु भयो जब सीमा पार गर्ने ड्राइभरका लागि कोभिड–१९ को खोप लगाउनुपर्ने वा क्वारेन्टिन गर्नका लागि आदेश दिइयो । यसको विरोधमा क्यानडाका ट्रक ड्राइभरले ‘फ्रिडम कन्भोय’ निकाले र साथै महामारी प्रतिबन्धदेखि कार्बन ट्याक्ससम्म हरेक चिजमा ट्रुडो सरकारको नीतिको विरोध गर्न थाले ।
प्रदर्शनकारीले ६ दिनका लागि विन्डसर, ओन्टारियो र डेट्रायटबीच एक महत्वपूर्ण व्यापार मार्ग, अम्बेसेडर ब्रिजलाई ब्लक गरिएको थियो जसलाई आइतबार प्रहरीले खाली गराए । ओटावामा विरोध प्रदर्शन तीन हप्तादेखि जारी छ ।

