ललितपुर र भक्तपुरमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु, दुई जना घाइते


काठमाडौं – ललितपुर र भक्तपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

ललितपुरको बागडोल र भक्तपुरको च्यामासिंहमा सोमबार राति भएका दुर्घटनामा एक–एक जनाको मृत्यु भएको हो ।

ललितपुरको बागडोलमा प्रदेश २–०३० प ९४८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किंदा मोटरसाइकल चालक बाँकेका ३० वर्षीय गणेश कुमार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा राति साढे ११ बजे मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार कैलालीका ३० वर्षीय इन्द्र भण्डारी घाइते भएका छन् । उनको पाटन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यसैगरी भक्तपुरको कमलविनायक च्यामासिंहमा बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल आपसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार दोलखाका ३४ वर्षीय देवेन्द्र कार्की रहेका छन् । गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा बेलुकी साढे ८ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दोलखाकै २७ वर्षीय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया