शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले २४ लाख मात्रा खोप रेकर्डमा नरहेको बताएपछि सरकारले खोप छानविन समिति गठन गरेको थियो। डा.गुणराज लोहनीको अध्यक्षतामा गठित ५ सदस्यीय खोप छानविन समितिले सोमबार प्रतिवेदन बुझाएको मन्त्री खतिवडाका प्रेस संयोजक शान्तराम बिडारीले जानकारी दिए।
सरकारले प्रतिवेदन भने सार्वजनिक गरेको छैन। खोप छानविन समितिको सदस्य सचिवमा डा.गुणनिधि शर्मा र डा.अभियान गौतम, सदस्यहरूमा यशोदा अर्याल र अनिल थापा छन्।
सरकारले विभिन्न देशबाट अनुदान तथा खरिद गरेर ल्याएको कोरोनाविरुद्धको खोपमध्ये २४ लाख डोज खोप सरकारी रेकर्डमा नभेटिएपछि सरकारले छानविन समिति गठन गरेको हो। सरकारले अहिले देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ।