‘पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न मन्त्रीको निर्देशन’
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिए । आज मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरुसँगको छलफलका क्रममा मन्त्री आलेले फूल प्रसाद बिक्री गर्ने ठाउँ साँघुरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण उक्त पसल व्यवस्थित ठाउँमा सार्न निर्देशन दिएका हुन् ।
पशुपति क्षेत्र नेपालका चार धाममध्ये एक भएको र पशुपति नाथ राष्टदेव भएकाले त्यहाँ सफा सुग्घर राख्न विकास समितिका पदाधिकारीलाई निर्देशन दिए । मन्त्री आलेले भने, ‘पशुपति नाथमा आउने भक्तजनलाई कुनै पनि कुराको असहज नहोस्, राष्ट्रदेव पशुपतिनाथ क्षेत्रलाई सुन्दर र सफा राख्नुस् ।’ पशुपतिनाथ क्षेत्रमा फूल, प्रसाद बिक्री गर्दै आएका व्यापारीलाई उचित स्थानमा सार्न र उनीहरुका समस्या एक हप्तामा समाधान गर्नसमेत मन्त्री आलेले आग्रह गरे ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पशुपतिनाथ क्षेत्रमा फूल प्रसाद बिक्री वितरण गर्ने व्यापरारीहरुले आपसी सहमतिमा आफू बस्ने ठाउँको व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरे । उनले भने, ‘पर्यटन मन्त्रीको पहलमा तपाईंहरुको व्यापार गर्ने ठाउँको व्यवस्था हुँदैछ, अनेकौँ बहाना गरेर बखेडा नगर्नुस्, आपसी सहमतिमा आफ्नो व्यापार गर्ने ठाउँ रोज्नुस् ।’