लिटल फ्लावर प्रिमियर लिग : धनगढीमा शुरु, सत्यवतीको विजयी शुरुवात


धनगढी – कैलालीको धनगढीमा सोमबार शुरु भएको १९ वर्षमुनिको विद्यालयस्तरीय ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’मा सत्यवती एकेडेमीले विजयी शुरुवात गरेको छ। प्रतियोगिताको छैठौं संस्करणको उदघाटन खेलमा सत्यवती एकेडेमीले लिटल फ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गरेको हो।

सत्यवतीले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले पूरै २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय २४ रन मात्र बनाउन सक्यो। लिटल फ्लावरको ब्याटिङमा कप्तान बिपिन रावलले सर्वाधिक ६२ रन बनाए। यस्तै नरेन भट्टले २८ रन बनाए। सत्यवती एकेडेमीका निरज भट्ट र युवराज खत्रीले समान २/२ विकेट लिए भने सन्तोष कार्की, सन्दिप खत्री र सुजन गौतमले समान १/१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो। उसका लागि सन्दिप खत्रीले सर्वाधिक ६६ रन बनाए। यस्तै सन्तोष कार्कीले ३३, खगेन्द्र जोशीले ३२ तथा आदील अन्सारीले ३० रनको योगदान दिए। लिटल फ्लावरका प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान २/२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सन्दिप खत्री घोषित भए। प्रतियोगिताअन्तर्गत मंगलबार २ खेल हुनेछन्। पहिलो खेलमा होलिल्याण्ड स्कुल र एभरेष्ट एकेडेमीले तथा दिउँसो गुरुकुल मेडियम स्कुल र स्टेपिंग स्कुलले प्रतिस्पर्धा गर्नेछन्।

यसअघि प्रतियोगिताको धनगढीका मेयर नृपबहादुर वडले उदघाटन गरेका थिए। आयोजक लिटिल फ्लावर स्पोर्ट्स एण्ड इभेन्टसका प्रमुख कार्यकारी निर्देशक रामचन्द्र शाहीले क्रिकेटको जग बलियो बनाउन ६ वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको बताए।

प्रतिक्रिया