गाडी लाइन छाडेर मौरीपालनतर्फ


सानेबहादुर नेपाली(रासस)

तनहुँकुनै समयमा बस मालिक भनेर चिनिने व्यास नगरपालिका१ गल्बुबँेसी निवासी ५५ वर्षीय रामनाथ मिश्र अहिले मौरीबाजे भनेर परिचित बनेका छन् । बस र ट्र्याक्टरबाट राम्रै आम्दानी भए पनि अस्वस्थ प्रतिस्पर्धा र विकृति बढ्दै जान थालेपछि भएका गाडी बिक्री गरेर श्रीकृष्ण मौरीफार्म दर्ता गरी मौरीपालनतर्फ लागेको उनले बताए । विसं २०७२ देखि मौरीपालन थालेपछि छुट्टै आनन्द मिलेको छ, उनले भने, ‘कसैसँग झगडा र राता गाला गर्नुपरेको छैन ।

मौरीपालनको शुरुमा धेरै सङ्घर्ष गर्नुपरेको बताउने मिश्रले भने, ‘जीवनमा हरेस भने कहिल्यै खाइनँ, त्यसकै सफलता आज मिलेको आभास गरेको छु । वनको मुढेघारबाट मौरी पाल्न शुरु गरेका मिश्रले दशौँ पटकसम्म पनि मौरी नबसेपछि धेरै दुःख पाए पनि हरेसचाहिँ नखाएको उनी बताउछन् । अहिले उनको फार्ममा ५० घार सेरेना जातका मौरी छन् ।

करिब एक रोपनी क्षेत्रफलमा तारबार गरी मौरीपालन गरी मौरीलाई आवश्यक पर्ने विभिन्न किसिमका फूलसमेत लगाएका छन् । वर्षमा कम्तीमा ४०० माना मह उत्पादन हुने र प्रतिमाना रु एक हजारमा बिक्री गर्ने गरेको उनी बताउछन् । मौरी छुट्याएर मौरीको घारसहित वर्षमा ५० देखि ६० घारसम्म बिक्री गर्ने गरेको उनले जानकारी दिए । यसरी बिक्री गर्दा प्रतिघार मौरीसहित रु १० हजार मूल्य पर्नेछ ।

मह र मौरी बिक्री गरेर वार्षिक रु सात÷आठ लाख सजिलै कमाउँदै आएको बताउँदै फार्ममा १०० घार मौरी पुर्याउने लक्ष्य रहेको उनी बताउछन् ।

बजारको समस्या छैन

उत्पादन गरिएका मह बिक्रीका लागि बजारको समस्या नरहेको उनले बताए । मह बिक्रीका लागि घरघरमा धाउनु पर्दैन । घरमा नै आएर मह लैजाने गरेका छन् । फार्ममा उत्पादन भएको मह लिनका लागि टाढाटाढादेखि मानिस आउने गर्छन् । कुनै समय त मह सकिएको अवस्थामा मानिसहरू रित्तै हात फर्कनुपरेको उनी बताउछन् ।

बजारमा डुलाएर बिक्री गर्ने मह अधिकांश नक्कली हुने भएकाले डुलाएर हिँड्नेसँग सजग रहन सबैमा उनले आग्रह गरे । मह बालबालिका, वयस्कदेखि वृद्धवृद्धा सबैको लागि उत्तम मानिन्छ । रुघाखोकीका लागि मह अचूक औषधिको रूपमा लिइन्छ ।

वार्षिक कम्तीमा ४०० माना मह उत्पादन गर्दै आएका मिश्रले यस वर्ष मह उत्पादन ह्वात्तै घटेको बताए । यस वर्ष अत्यधिक वर्षा भएका कारण मह उत्पादन घटेको हो । अहिले मुस्किलले बाह्र माना मह उत्पादन भएको उनले जानकारी दिए । लामो समय पानी परिरहेकाले चर्नका लागि बाहिर निस्के पनि फूलको रस पानीले पखालिदिने भएकाले सोचेअनुरूपको मह उत्पादन नभएको उनी बताउछन् । मौरीका लागि अरिङ्गाल, माउसुली, सुलसुले, गँगटे, बिच्छीलगायत मुख्य शत्रु मानिन्छन् ।

पछिल्लो समयमा विदेशिने युवालाई सकारात्मक सन्देश किसान मिश्रले दिएका छन् । मेहनत र परिश्रम गर्न सके स्वदेशमै बसेर मनग्य पैसा कमाउन सकिने उनको धारणा छ । वार्षिक आठ÷दश लाख कमाउन विदेशिनु पर्दैन, उनले भने, ‘एक सय घार मौरी पाल्न सके विदेशमा कमाउने पैसा आफ्नै देशमा घरपरिवारसँग बसेर कमाउन सकिन्छ । मौरीपालनका लागि धेरै लगानी गर्न नपर्ने, दिनहुँ खटिनुनपर्ने, धेरै जनशक्ति नचाहिने हुँदा अन्य पेशाको तुलनामा सजिलो पेशाका रूपमा लिने गरिन्छ ।

मौरीबाट विष उत्पादन गर्ने लक्ष्य

मौरीपालन कृषक मिश्रले मौरीबाट विष उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । महको घारभित्र रु ६० हजार पर्ने मेसिन जडान गरी सिसासँगै करेन्ट प्रवाह गर्दा मौरीलाई करेन्ट लाग्ने र करेन्ट लागेको झोकमा रिसाउँदा सिसालाई टोक्दा विष छाड्ने बताइएको छ ।

उक्त विष औषधि प्रयोगमा महङ्गो मूल्यमा बिक्री हुने भएकाले विष उत्पादन गर्ने योजना रहेको उनले बताए । सिसामा थोरै विष छाड्ने भएकाले उक्त विष कोट्याएर सङ्कलन गरिनेछ । उक्त विषको प्रतिकिलो रु २५ लाखसम्म मूल्य पर्ने बताइएको छ । मौरीपालन किसान मिश्रलाई मौरीसहित २५ घार अनुदानमा प्रदान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । मौरीपालनतर्फ कृषकलाई आकर्षित गर्न कार्यालयले मौरीसहितको घार अनुदानमा वितरण गर्दै आएको उनले बताए ।

प्रतिक्रिया