दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निजी डेरीहरूको घोषणा
काठमाडौं – निजी क्षेत्रका दुध बिक्री गर्ने उद्योग (डेरी)हरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् ।
शुक्रबार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी दिएको हो ।
अब किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गरिएको पनि निजी डेरीले जनाएका छन् । बढेको मूल्य फागुन एक गतेदेखि लागू हुनेछ ।
यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ थियो । अब पाँच सय एमएलको एक प्याकेटको खुद्रा बिक्री मूल्य ४३ रुपैयाँ कायम भएको छ।