नारायणहिटीमा रहेको कन्सुलर सेवा विभागले आइतबारदेखि त्रिपुरेश्वरको नयाँ भवनबाट सेवा दिने


काठमाडौं – काठमाडौंको नारायणहिटीमा रहेको कन्सुलर सेवा विभागले आइतबारदेखि त्रिपुरेश्वरमा बनेको नयाँ भवनमाबाट सेवा दनिे भएको छ । विभागको कार्यालय नयाँ भवनमा सर्न लागेकाले आइतबारदेखि नयाँ भवनबाटै सेवा दिन थाल्ने विभागका महानिर्देशक धनबहादुर वलीले बताए ।

योभन्दा पहिले नारायहिटीमै रहेको राहदानी विभाग त्रिपुरेश्वरको नवनिर्मित भवनमा सरिसकेको छ । भवन स्थानान्तरणको क्रममा एकदुई दिन टेलिफोन सेवा अवरुद्ध भए पनि चाँडै नै ११५२ नम्बरको टोल फ्री फोन सेवा सञ्चालनमा ल्याउने पनि उनले बताए । यस्तै उनका अनुसार कन्सुलर सेवालाई थप प्रभावकारी बनाउन ह्वाट्सअप तथा भाइबरबाट पनि सेवा प्रदान गर्ने तयारी भइरहेको छ ।

विभागले आफ्ना सेवालाई पालिकास्तरबाटै प्रदान गर्ने तयारी पनि गरिरहेको छ । मोबाइल एप निर्माण गरेर त्यसबाट पनि सेवा प्रदान गर्ने गरि काम अघि बढीरहेको महानिर्देशक वलीले बताए ।

कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीहरुका हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरणको काम गर्छ । यस्तै विदेशी नियोग तथा कूटनीतिक पदाधाकरीहरुलाई प्रदान गरिने सुविधा, नेपाल सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीहरुका लागि सम्बन्धित देशको प्रवेशाज्ञाको लागि सिफारिस गर्ने लगायतका कामहरु पनि कन्सुलर विभागले गर्छ ।

प्रतिक्रिया