

पुष्पलाल ब्याडमिन्टनलाई लिनिङ्गको साथ

काठमाडौं – ११ औं पुष्पलाल स्मृती र्याङकिङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लिनिङ्गले साथ दिने भएको छ । प्रतियोगितालाई लिनिङ्गले साथ दिने सम्झौता भएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए । लिनिङ्गको मुख्य प्रायोजन पश्चात प्रतियोगिताको नाम लिनिङ्ग ११ औं पुष्पलाल स्मृती र्याङकिङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । यस प्रतियोगितालाई लामो समयदेखि ब्याडमिन्टन खेलमा स्थापित ब्राण्ड योनेक्सले प्रायोजन गर्दै आईरहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ साल देखि नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको प्रतियोगितालाई नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल) ले साथ दिंदै संयुक्त आयोजकको रुपमा आफुलाई उभ्याएको छ । प्रतियोगिताको छिटपुट बाहेक अन्य सम्पूर्ण तयारी पुरा भएको संघका महासचिव सुनिल मान शाक्यले जानकारी गराएका छन् । ललितपुर जिल्लाको नखिपोटमा आयोजना हुने प्रतियोगिता फागुण ३ गते देखि ७ गते सम्म संचालन हुने छ ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघसँग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरि ५० संस्थाका खेलाडीहरुले सहभागिता जनाउने छन् ।
कुल २१ लाख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कार तर्फ ५ लाख ९८ हजार खर्च रहेको छ ।

