प्रतिनिधिसभा बैठक सार्न सभामुखलाई एमालेको आग्रह


काठमाडौं – आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

एमालेले विराटनगरमा प्रदेश १ स्तरीय भेला आयोजना र प्रतिनिधिसभा बैठक एकैदिन परेकाले बैठक अर्को दिन सारिदिनका लागि एमालेले सभामुख सापकोटालाई आग्रह गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुुख तथा अध्यक्ष, उपाध्यक्षहरु र प्रदेशभित्रका सबै सांसदहरु सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभाको बैठक स्थगित गर्न भनिएको उनले बताए ।

पछिल्लो समय प्रतिनिधिसभाको बैठक निरन्तर रुपमा स्थगित हुँदै आएको छ । पुस ७ यता मात्रै प्रतिनिधिसभाको बैठक निरन्तर ६ पटक स्थगित भइसकेको छ । पुस १८, पुस २२, पुस २८, माघ ३ गते, माघ १६ र माघ २६ गते बोलाइएको बैठक स्थागित भएका थिए ।

त्यस्तै एमालेले २३ भदौदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया