एमाले ‘साईड’ लगाउन पाँच दल मिलेर चुनावमा जान्छौंः हरिबोल गजुरेल


सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि दलहरु चुनावको तयारीमा छन् । आगामी बैशाख ३० मा ७ सय ५३ स्थानिय तहको निर्वाचन एकै चरणमा हुने भएको छ । यसअघि तीन चरणमा गरिएको स्थानीय तहको निर्वाचन एकै चरणमा हुन लागेको हो । राजनीतिक दलहरुमा चुनावी गठबन्धनको लागि बहस सुरु भएको छ । पाँच दलीय गठबन्धन चुनावमा मिलेर जानुपर्ने गठबन्धनका अधिकांश नेताहरुको माग छ । चुनावी गठबन्धन सम्बन्धी विविध विषयमा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलसँग अनलाईनन्युज७का संवाददाताले गरेको कुराकानीको सारसंक्षेपः

सत्ता गठबन्धन स्थानिय तहको चुनावमा मिलेर जान्छ ?

बिल्कुल जान्छ । बाहिर जे जस्तो सुन्नमा आए पनि गठबन्धन चुनावमा मिलेर जान्छ । अहिलेको जो गठबन्धन छ, त्यही गठबन्धन मिलेर जानुपर्छ भन्ने हाम्रो धारणा छ । लगभग सबै दलको यस्तै धारणा छ । कांग्रेसका कतिपय नेताहरुको असहमती नभएको होईन, तर छलफल गरेर सहमतीको बातावरण तयार पारेर चुनावमा जान्छौं । सबै दलका नेताहरुसँग हामी लगातार छलफलमा छौं, अहिलेसम्म ठोस निर्णय बनेको छैन । सत्ता गठबन्धनलाई चुवानी गठबन्धनमा लैजानेमा माओवादी केन्द्रको पूर्ण समर्थन छ । अन्य दलहरु पनि सकारात्मक छन् ।

सत्ता गठबन्धन नै चुनावी गठबन्धन बन्ने भनेपछि, पाँचदलीय चुनावी गठबन्धन बनाउने हो ?

गठबन्धनका सबै दल मिलेर जान्छौं । अहिलेसम्मको प्रारम्भिक छलफलले त्यस्तै संकेत देखाएको छ । दलका नेताहरुबाट पनि एक खालको सकारात्मक जवाफ आईरहेको छ । देशैभर जित्ने तयारीका साथ गठबन्धन अब चुनावी मैदानमा आउँछ । सबै कुरा सबै ठाउँमा नमिल्न पनि सक्छ, त्यो मिलाएर जानुपर्छ भन्ने हो । अब सुझाव संकलन गरेर सबैको राय बुझेर निर्णय हुन्छ । नेपाली कांग्रेसका कतिपय नेताहरु बाहेक सबैको मिलेर चुनावमा जानुपर्छ भन्ने धारणा रहेको छ । सबै दलका शीर्ष नेताहरुको छलफलबाट आगामी यात्रा कस्तो हुने भन्ने कुराको निक्र्यौल हुन्छ ।

कांग्रेसका कतिपय नेताहरुको असहमती नभएको होईन, तर छलफल गरेर सहमतीको बातावरण तयार पारेर चुनावमा जान्छौं ।

पाँच दल मिलेर चुनावमा जाँदा दलहरुमा एक अर्कालाई घात गर्ने सम्भावना, अनि भागबन्डाको लफडा हुदैन ?

हुदैँन, किनभने अहिले गठबन्धनका दलहरुमा त्यो किसिमको विश्वासको वातावरण बनिसकेको छ । हामी प्रतिगमनबिरुद्ध सशक्त रुपमा एकैठाउँ उभिएका छौं । हामीहरुमा आपसी विश्वास छ, रहनुपर्छ । विश्वास नै रहेन भने त गठबन्धन गर्दा फाईदा भन्दा पनि नोक्सान हुन्छ । तर, गठबन्धनप्रति हाम्रो विश्वास छ । एक अर्कालाई घात गर्ने सम्भावना रहन्नँ । भागबन्डा पनि सहमतीमा सजिलै हुन्छ ।

त्यसो भए प्रदेस र संघको निर्वाचनमा पनि मिलेर नै जानुहुन्छ ?

जानुपर्छ भन्ने त हो, तर त्यो अहिले नै भन्न सकिन्नँ । पहिले स्थानिय तहको निर्वाचन हेरौं । स्थानिय तहको निर्वाचनमा दलहरुमा कत्तीको विश्वास रहन्छ ? त्यसको परिणाम कस्तो आउँछ ? त्यो कुराले प्रदेस र संघको निर्वाचनमा गठबन्धन गर्ने की नगर्ने भन्ने कुरा निर्धारण गर्छ ।

सरकार पनि जोगाईराख्नुपर्ने र गठबन्धनमा मिलेर नगए एमाले बलियो होला भन्ने डरले चुनावी गठबन्धनमा जान लाग्नु भएको हो ?

गठबन्धनलाई त्यसरी बुझ्नुभन्दा पनि प्रतिगमनको बिनासको लागि भनेर बुझ्नुस् । हामीले देशलाई विकासको बाटोमा अग्रसर गर्न गठबन्धन गरेका हौं । चुनावी गठबन्धनले हामी बलियो हुन्छौ र एमाले कमजोर हुन्छ । यसरी प्रतिगमनको खतरा टर्छ । एमाले फुटे पनि अझै कमजोर बनेको छैन, एमाले बलियो बन्यो भने प्रतिगमनको खतरा कायम रहन्छ । त्यसकारण एमालेलाई साईड लगाउन पाँच दल मिलेर चुनावमा जान्छौं । मिलेर जाँदा एमाले कमजोर हुन्छ र कमजोर भयो भने प्रतिगमन गर्न सक्दैन । गठबन्धनको मुख्य लक्ष्य भनेको एमालेलाई कमजोर पार्ने र प्रतिगमनको अन्त्य गर्ने हो ।

 

प्रतिक्रिया