ए डिभिजन लिगः पुलिसद्वारा च्यासल पराजित


काठमाडौं — सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा पुलिसका रविकुमार पासवानको दुई गोलको मद्दतमा पुलिस च्यासल युथ क्लबलाई २—१ ले पराजित गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा रविले दुवै हाफमा एक—एक गोल गरेका थिए । त्यस्तै च्यासलका लागि विदेशी खेलाडी माउसा अबागानाले एक गोल फर्काए । च्यासलको १९ खेलाडीमा कोभिड—१९ संक्रमण देखिएपछि गत माघ २ गते तय भएको खेल स्थगित भएको थियो । सोही खेल बुधबार खेलाइएको हो ।

खेलको ३७ औं मिनेटमा निरकुमार राईको पासमा रविकुमार पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

५३ औं मिनेटमा पेनाल्टीमार्फत च्यासलले बराबरी गोल फर्काएको थियो । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई फाउल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो र त्यसमा माउसा अबागानाले गोल गरेका हुन् ।

७० औं मिनेट रवि पासवानले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले अग्रता लिएपछि खेलमा कुनै गोल भएन ।

लिगमा दोस्रो जितपछि ९ खेलबाट १० अंक जोडेर पुलिस अंक तालिकामा एक स्थान सुधार गर्दै दशौं स्थानमा उक्लेको छ ।

च्यासल भने यो हारपछि रेलिगेसनको दबावमा परेको छ । उसले ९ खेलबाट ५ अंक मात्र जोड्दै १३ औं स्थानमा छ ।

प्रतिक्रिया