केपी ओली र शेखर कोइरालाबीच साँढे दुई घण्टा छलफल : के भयो कुराकानी ?


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटावार्ता भएको छ । ओली निवास बालकोटमा मंगलबार साँझ भएको भएको भेटवार्तामा एमसीसी, संसद् सुचारु गर्ने, स्थानीय निर्वाचनसहितका विषयमा छलफल भएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए । दुइ नेताबीच साँढे दुइ घण्टाभन्दा धेरै कुराकानी भएकाे थियाे ।

उनका अनुसार भेटघाटको पहिलो मुद्दा थियो अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसीए)। त्यसैगरी अर्को विषय थियो संसदमा चार महिनादेखिको गतिरोध र तेस्रो, स्थानीय तह निर्वाचन, समसामयिक राजनीति। पछिल्लो केही समययता एमसीसीलाई लिएर सत्ता गठबन्धनमा तीव्र मतभेद छ। यसैले गठबन्धन रहने या नरहने विन्दुमा घटनाक्रम पुगिसकेको छ।

यस्तो अवस्थामा कुनै पनि शर्तमा एमसीसी संसदबाट पास गराउने दिशामा कांग्रेस पुगेको छ। सभापति शेरबहादुर देउवासँग मतभेद हुँदा हुँदै पनि डाक्टर कोइरालाले एमसीसीलाई संसदमा लगेर छिनोफानो गरिनुपर्ने धारणा राखिरहेका छन्।

‘आजको भेटमा पनि दुई नेताबीच एमसीसीलाई संसदमै लगेर छिनोफानो गर्नेबारे छलफल भएको छ,’ थपलियाले भने, ‘एमसीसीबारे कांग्रेस र एमालेबीचको खासै धेरै मतभेद नरहेको अवस्थमा दुई पार्टी मिलेर यसलाई अघि बढाउन सकिने सम्भावनाको पनि खोजी भएको छ।’ तर गत भदौदेखि एमालेले सभामुखविरुद्ध आन्दोलन गरेर संसदमा अवरोध जारी राखेको छ। एमालेले आफ्ना १४ सांसदमाथि गरिएको कारबाहीको सूचना नटाँसेका सभामुखले माफी मागे या राजीनामा दिएमा मात्रै संसद खुल्न सक्ने शर्त राखिरहेको छ।

दुई नेताबीच संसद खुलाउने उपायबारे पनि कुरा भएको थियो। संसद नखुलेसम्म एमसीसीले त्यहाँ प्रवेश पाउन नसक्ने भएकाले कांग्रेस पनि विकल्पको खोजीमा छ। त्यसैगरी उनीहरुबीच स्थानीय तह निर्वाचन र अन्य समसामयिक राजनीतिबारे पनि कुरा भएको छ। उक्त भेटमा दुई नेताबीच पाँच दलीय गठबन्धनबारे पनि लामो छलफल भएको छ।

तर दुवै पक्षले यसबारेमा केही बोल्न चाहेनन्। डा। शेखर कोइराला पक्ष आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्नेमा दृढ छ।  तर सभापति देउवा गठबन्धनलाई अहिले नै छाडिहाल्ने पक्षमा छैनन्। सकेसम्म यही गठबन्धनबाट एमसीसी पास गराउने पक्षमा रहेका देउवा गठबन्धन बचाउन चाहन्छन्।

माओवादी केन्द्र र एकीकृत समाजवादी नमान्ने भएकाले उनी एमालेलाई साथमा लिएर भए पनि एमसीसी पास गराउने मुडमा देखिएका छन्। गठबन्धन नभत्किएसम्म एमसीसीबारे मौन रहने एमालेको अडानका कारण देउवा समस्यामा परिरहेका बेला शेखरले ओलीलाई भेटेका हुन्।

संसदबाट एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धन दलबीच सहमति नजुटेपछि कांग्रेस र एमालेबीच केही दिन यता विभिन्न स्तरमा छलफल भइरहेको छ। यी दुवै दल एमसीसी पास गर्ने पक्षमा देखिएका छन्।

दुई नेताबीचको भेटलाई आपसी सद्भावका लागि र नियमित भनिएको छ। एमसीसीका कारण देशको राजनीतिक अवस्था पेचिलो बनिरहेको बेला भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ।

प्रतिक्रिया