भन्सार छलेर ल्याइँदै गरेको आठ किलो चाँदीका गहना बरामद
नेपालगन्ज – बाँकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याइँदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना प्रहरीले बरामद गरेको छ । भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त परिमाणमा गहना बरामद गरेको हो ।
जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई छलेर ल्याइएको ८ लाख ६७ हजार ७ सय १५ रुपैयाँ बराबरको चाँदीका गहना सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको जनाएको छ।
तस्करीमा संलग्न व्यक्ति भने मोटरसाइकल छाडेर फरार भएको सशस्त्र प्रहरी बलले जनाएको छ । उनीहरूलाई लखेट्दासमेत पक्राउ गर्न नसकेको प्रहरीको बनाइ छ । गहना र मोटरसाइकल भने नेपालगन्ज भन्सारलाई बुझाइएको छ ।