आजको मौसम : बागमतीसहित धेरै ठाउँमा बदली, केही ठाउँमा हिमपात


काठमाडौं – वाग्मती प्रदेशसहित देशका धेरै स्थानमा आज मौसममा बदली हुने भएको छ । आज दिउँसो प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश–१ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज राति प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । तराई भू–भागमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

प्रतिक्रिया