हिमपातले अवरुद्ध भएको पाँचौ दिनमा सुचारु भयाे हुम्लाको हवाई सेवा


सिमकोट – हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँचौ दिनमा सुचारु भएको छ। विमानस्थलमा जमेको हिउँ स्नोलक भेहिकल र विमानस्थलका कर्मचारी मिलेर पन्छाएपछि बल्ल हवाई सेवा सुचारु भएको हो।

नागरिक उड्यायन प्राधिकरण सिमकोट शाखाले अवरुद्ध भएको पाँचौ दिनमा हवाई सेवा सुचारु भएको जानकारी दिएको छ। शनिबारदेखि नै विमानस्थलमा जमेको हिउँ पन्छाउन सुरु भएको थियो। आज बिहान रनवेको छेउछाउ र पार्किङस्थलमा रहेको हिउँ प्रहरी र विमानस्थलका कर्मचारी मिलेर पन्छाएका थिए।

हिउँ पन्छाएपछि नेपालगञ्जबाट सीताका दुई वटा र तारा एयरको एउटा जहाजले उडान भरेका थिए। तारामा यात्रुहरु आएका थिए भने सीता एयरले खाद्यन्न ढुवानी गरेको थियो।

हुम्ला आउनुपर्ने यात्रु चार दिनदेखि नेपालगञ्जमै रोकिएका थिए। हवाई सेवा सुरु भएपछि यात्रुलाई सहज भएको छ। लामो समय हवाई सेवा बन्द हुँदा तरकारी, मासु र अन्य अत्यावश्यक सामाग्रीको हुम्लामा अभाव देखिएको छ।

प्रतिक्रिया