

बालुवाटार र थापाथलीमा झोंकाझोंक, भैंसेपाटीमा भयो दुई तटस्थको भेट

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई अलग समूहको बालुवाटार र थापाथलीमा केन्द्रीय समितिको बैठक भयो। बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले डाकेको बैठकमा केन्द्रीय सदस्य थपिए भने प्रवक्ताबाट नारायणकाजी श्रेष्ठको जिम्मेवारी खोसियो।
पूर्वमाओवादीका तर्फबाट पुगेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापाले प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाए। नैतिक जिम्मेवारी बिर्सेको पनि बताए। यता, थापाथलीमा माधवकुमार नेपाल, झलनाथ खनाललगायतले ओलीको सकेसम्मको आलोचना गरे।
तर दुवै भेलामा नपुगेका उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलको भने भैंसेपाटीमा भेट भएको छ।
पार्टी आजदेखि दुई टुक्रा भएको र जोगाउनका लागि निक्कै भूमिका खेलेको सन्देश उनीहरूले दिएका छन्। उनीहरू नेकपा विभाजनकै अवस्थामा पुगिसकेपछि भने कुनै पनि भेलामा गएका थिएनन्। स्रोतले भन्यो,‘अझै पनि यी विषयलाई समाधानको कुनै तहमा गर्न सकिने भए गरौं भन्ने नै सल्लाह भएको छ। तर अब यात्रा फरक मोडमा भइसकेको छ।’
दुवैले उपयुक्त समयमा सम्बन्धित पार्टीमा जाने या नजाने भन्ने विषयमा निर्णय लिने विषयमा छलफल गरेका छन्।

