भोलिसम्म वर्षा र हिमपात


काठमाडाैँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबारसम्म मौसम प्रभावित हुने भएको छ।बिहीबार साँझदेखि नै देशका अधिकांश ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो। काठमाडौं उपत्यकामा पनि बिहीबार साँझदेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौंमा आज बिहान पनि मध्यम वर्षा भएको छ। देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ  सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना  सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। यस्तै शनिबार प्रदेश नम्बर १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ।

प्रदेश नम्बर १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत छ।

शनिबार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया