खोपकार्ड अनिवार्य गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा


काठमाडौं – सर्वोच्च अदालतले सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको रिटको सुनुवाइ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा तोकेको छ।

अधिवक्ता सल्लु तिवारी र सविन पोख्रेलले दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश श्रेष्ठको एकल इजलास तोकिएको हो।

रिटमा सरकारको निर्णयका कारण संविधानप्रदत्त मौलिक हकमा गैरकानुनी आघात पुगेको र मानवअधिकार उल्लंघन भएको जिकिर गरिएको छ।

रिटमा सबै नागरिकमा खोपको पहुँच नपुगेको अवस्थामा खोपकार्ड अनिवार्य गर्दा खोप लगाउन नपाएका नागरिकले नागरिकता जस्ता आवश्यक कागजातसमेत बनाउन नसकेको विषय उल्लेख गरिएको छ।

गत मंगलबार दायर भएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी परिसर टुेकुलगायतलाई विपक्षी बनाइएको छ। सरकारले खोप नलगाएकाहरुलाई सार्वजनिक सेवा प्रदान नगर्ने र सरकारी कार्यालयमा प्रवेश नदिने निर्णय गरेको थियो।

प्रतिक्रिया