आज नेपाल–मौरिससबीचको दोस्रो खेल, नेपाली टोली इतिहास बनाउने दाउमा

नेपाली टोलीमा परिवर्तन


काठमाडौं  – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार मौरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दोस्रो खेलको लागि दुई परिवर्तन गरेका छन् ।

डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको स्थानमा मनिष डाँगी र दर्शन गुरुङले टोलीमा स्थान बनाएका छन् । पहिलो खेलमा दर्शनको नाम भएपनि सामान्य चोटका कारण उनको स्थानमा प्रशान्त अवस्थी पहिलो खेल बेन्चमा रहेका थिए । दोस्रो खेलमा दर्शन ठिक भएपछि प्रशान्त टोलीमा छैनन् । त्यस्तै चोटका कारण संघर्ष गरिरहेका डिफेन्डर अनन्तको स्थानमा मनिष डाँगी टोलीमा समेटिएका छन् । मनिषले पहिलो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका थिए ।

अनन्तको अनुपस्थितिसँगै दोस्रो खेलमा दीनेश राजवंशी र देवेन्द्र तामाङको जोडीले नै सेन्टर डिफेन्स सम्हाल्ने पक्का छ । उनीहरुलाई सुमन अर्याल र गौतम श्रेष्ठले साइड डिफेन्सबाट सहयोग गर्नेछन् । नविन गुरुङ पनि डेब्युको आशासहित टोलीमा समेटिएका छन् ।

गोलरक्षकमा विशाल श्रेष्ठले अवसर पाउन सक्छन् । पहिलो खेलमा विश्राम पाएका उनले दोस्रो खेलमा भने टोलीमा स्थान बनाएका छन् । विशालसँगै कप्तान किरण चेम्जोङ र शत्रुघन चौधरी टोलीमा रहनेछन् ।

मिडफिल्डमा पुजन उपरकोटी टोलीमा फर्कने सम्भावना छ । पहिलो खेलमा सुरज ज्यु ठकुरीले औसत प्रदर्शन गरेपछि पुजन पूर्ण रुपमा फिट भएर तेज तामाङसँग मिडफिल्ड सम्हाल्न सक्छन् । एरिक विष्ट र सुभाष गुरुङ राष्ट्रिय टोलीमा पुनरागमन गर्दा आशिष राई डेब्युको प्रतिक्षामा हुनेछन् । सुमन लामाले पहिलो रोजाइमा स्थान पाउन सक्छन् ।

आक्रमणमा अन्जन विष्ट र विमल घर्तीमगरले निरन्तरता पाउने देखिन्छ । सुनिल बललाई दोस्रो खेलमा विश्राम दिएका कारण मनिष डाँगी सुरुवात गर्न सक्छन् । सुशील राई डेब्युको लागि प्रयासरत रहँदा दर्शन पनि पुनरागमन गर्न आतुर छन् । आशिष लामा पहिलो खेलमा मैदान प्रवेश गर्न नपाएकाले दोस्रो खेलमा अवसरको प्रतिक्षामा हुनेछन् ।

दोस्रो खेलको लागि घोषित टोली :

गोलरक्षक : किरण चेम्जोङ, विशाल श्रेष्ठ, सत्रुघन चौधरी

डिफेन्डर : गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, नविन गुरुङ

मिडफिल्डर : सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, आशिष राई, एरिक विष्ट, सन्तोष तामाङ, सुभाष गुरुङ, पुजन उपरकोटी

फरवार्ड : अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, सुशील राई, मनिष डाँगी, दर्शन गुरुङ

प्रतिक्रिया