खोप चिस्यान प्रणाली सुधारका लागि नेपाललाई जापान सरकारकाे सहयाेग


काठमाडौं – जापानले संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) मार्फत नेपालमा खोप कोल्ड चेन प्रणाली सुदृढ गर्न अनुदान सहयोग उपलब्ध गराएको छ । उपलब्ध गराइएको उक्त सहायता अन्तर्गत भ्याक्सिन कोल्ड चेन प्रणालीमा उपयुक्त भण्डारण सुविधा भएका उपकरणहरुसहित खोप भण्डारणको गर्न मिल्ने फ्रिजर, यातायातमा सजिलो हुने फ्रिज कन्टेनर, चिसो बक्स र अन्य सहायक उपकरण समावेश छन्।

अनुदान अन्तर्गत जापानले नेपालमा कोभिड-१९ खोपको उचित भण्डारण, व्यवस्थापन र ढुवानी सुनिश्चित गर्न ९ वटा वाक-इन-कुलर, ३८ वटा सौर्य संचालित भ्याक्सिन रेफ्रिजरेटर, १ हजार १०९ लामो दुरीको खोप वाहक र ५३ कोल्ड बक्स समेत उपलब्ध गराएको छ ।

जापानले गत वर्षदेखि यी उपकरणलाई नेपालभर वितरण गर्दै आएको छ र यो वर्ष जनवरी ३० मा सबै सामानको डेलिभरी सम्पन्न हुने जारी विज्ञप्तिमा उल्लेख छ । युनिसेफले कोल्ड चेन उपकरणको सञ्चालन र मर्मतसम्भारको लागि मानव संसाधन विकासमा सघाउने तथा कोभिड-१९ खोपको प्रभावकारी व्यवस्थापनको लागि अनुगमन प्रयासहरूलाई सघाउने समेत प्रतिबद्धता जनाएको छ ।

नेपालका लागि युनिसेफले जारी गरेको प्रेस वक्तव्यमा जापानी राजदूत किकुता युताकाले भनेका छन्, “नेपालले हाल ओमिक्रोन भेरियन्टका साथ कोभिड–१९ को तेस्रो लहरको सामना गरिरहेको छ, जसले खोपलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’

‘भ्याक्सिन अभियानमा उचित खोप भण्डारण महत्त्वपूर्ण छ र यो अनुदानले देशभर खोपको भण्डारण र वितरणको क्षमतामा व्यापक वृद्धि गर्ने लक्ष्य राखेको छ’ विज्ञप्तिमा भनिएको छ। जापानले यसअघि कोभिड महामारीविरुद्ध नेपाललाई खोप, एम्बुलेन्स, स्वास्थ्य सहायता उपकरण र कोल्ड चेन उपकरण पनि उपलब्ध गराएको छ ।

महामारीपछिको आर्थिक विकास र लक्ष्य हासिल गर्न यसैसाता जापानले नेपाललाई १० बिलियन डलर ऋण सहायता समेत उपलब्ध गराउने घोषणा गरेको छ । युनिसेफले नियमित खोपको लागि देशको खोप कोल्ड चेन प्रणालीलाई बलियो बनाउन नेपाल सरकारसँग साझेदारको रूपमा वर्षौंदेखि काम गर्दै आएको छ।

प्रतिक्रिया