

म कुनै भेलामा जान्न, फूटको साक्षी बस्न सक्तिनः बामदेव गौतम

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू पार्टी फूटको साक्षी बन्न नसक्ने भन्दै कुनै पनि भेलामा नजाने घोषणा गरेका छन्।
‘अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ । फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु’, गौतमले भनेका छन् ।
‘केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस् ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ’, गौतमले एउटा वक्तव्यमार्फत सोमबार भनेका छन्,‘म यो पार्टी एकीकरण गराउनेमध्येको नेता हुँ । त्यसैले अहिले पनि एकताको पक्षमा म छु । संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु । तर, दुबैतिरका भेलामा मेरो उपस्थिति हुँदैन । मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ ।’
मन्त्रिपरिषद्ले संसद भंग र मध्यवधी निर्वाचनको सिफारिस गरेपछि राष्ट्रपतिलाई टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्नुस् भन्न चाहेको तर कुरा गर्न सम्भव नभएको उनले बताएका छन्।
‘उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत भनेको थिएँ, यदि उहाँले मन्त्रिपरिषद्को सिफारिस बमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । उहाँले यसलाई एकपटक मन्त्रिपरिषद्मै फर्काइदिन उपयुक्त हुन्छ । यसका निम्ति मेरो विनम्र अनुरोध छ’, उनले वक्तव्यमा भनेका छन्।
राष्ट्रपतिले विज्ञप्तिमार्फत मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृत गरेको समाचार सुनेपछि दुःखद् घटना भएको निश्कर्षमा पुगेको उल्लेख गरेका गौतमले भनेका छन्,‘त्यसपछि संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गैर संवैधानिक कदम हो भन्ने धारणासहित मैले आइतबार नै विज्ञप्ति जारी गरेँ।’

