आचरणविपरीत काम गरेको भन्दै २२ वडासचिवलाई स्पष्टीकरण माग


बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले आचरणविपरीत काम गरेको भन्दै २२ जना वडासचिवलाई स्पष्टीकरण सोधेको छ। सुर्नया गाउँपालिकाका ६ वडा, दशरथचन्द नगरपालिकाका २ वडा, पाटन नगरपालिकाका ५ वडा, दोगडाकेदार गाउँपालिकाका २ वडा, डिलाशैनी गाउँपालिकाका २ वडा, मेलौली नगरपालिका २ वडा, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एकरएक वडाका सचिवलाई स्पष्टीकरण सोधिएको हो।

व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको, २० वर्ष नपुगेकाको विवाह दर्ता गरेकालगायत कारण स्पष्टीकरण सोधिएको कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना अनलाइनमा दर्ता गर्नुपर्ने नीति बनाए पनि बैतडीका धेरै जसो वडामा अनलाइन दर्ता नभएकाले स्पष्टीकरण सोधिएको सूचना अधिकारी भारतीले बताए। धेरै जसो वडा सचिवले कानुन नै नपढी हचुवाका भरमा व्यक्तिगत घटना दर्ता गरेको पाइएकाले स्पष्टीकरण सोधिएको उनको भनाइ छ।

‘२० वर्ष नपुगेकाको विवाह दर्ता गरेको पाइएको, धेरै जसोले व्यक्तिगत घटना दर्ता अनलाइनमा नगरेको पाइएकाले स्पष्टीकरण सोधिएको हो‚’ सूचना अधिकारी खगेन्द्र भारतीले भने, ‘पहिलो पटक उनीहरूलाई सचेत गराउन स्पष्टीकरण सोधेका र दोहिरिएमा कानुनबमोजिम कारवाहीका भागेदार हुनेछन्।’

नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पुग्ने नागरिकका लागि जन्मदर्ता, विवाहदर्तालगायतका कागजपत्र चाहिने र ती कागजपत्र अनलाइनमा भरेको हुनुपर्ने भए पनि त्यसो नगरेका वडा सचिवहरूलाई स्पष्टीकरण सोधिएको सूचना अधिकारी भारतीले बताए। पहिलोपटक स्पष्टीकरण सोध्ने र दोहोरिँदै गए कारवाही गरिने उनको भनाइ छ।

पञ्जीकरण विभागले व्यक्तिगत घटना दर्तालाई सहज बनाउन प्रत्येक स्थानीय तहमा एमआइएस अपरेटर राखेको छ। २०७५ भदौ १ गतेपछिका हरेक व्यक्तिगत घटना दर्ता अनलाइनमा दर्ता हुनुपर्ने भएकाले त्यसो नभएकाले स्पष्टीकरण सोधिएको हो।

प्रतिक्रिया