नेपालमा किन पुरुषभन्दा महिलाको संख्या बढी भयो, यसबाट कस्तो प्रभाव पर्छ ?


काठमाडौं – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले नेपालमा पुरुषभन्दा महिलाको संख्या ६ लाखले बढी भएको तर जनसङ्ख्या वृद्धिदर घटेको देखायो। यस विषयमा बीबीसीले सामाजिक सञ्जालहरूमार्फत् सर्वसाधारण मानिसको धारणा जान्न खोज्दा प्रकाश ओलीले ठट्यौलो पारामा माथिको प्रतिक्रिया लेखे।

उनले जसरी नै सुरज शिवाले लेखेका छन् ‘ल खुसी लाग्यो अब विवाह गर्न केटीको अभाव नहुने भयो।’ अनीशा सुवेदीलाई चाहिँ लैङ्गिक समानताको अवधारणाले गर्दा महिलाहरूको जनसङ्ख्या क्रमशः बढ्दै जानु सकारात्मक लागेको छ। कसैले महिलाको सङ्ख्या बढी देखिनुलाई पुरुषहरू विदेशिनुसँग जोडेर व्याख्या गरेका छन् भने कसैले लिङ्ग पहिचान गरी हुने गर्भपतन कम हुनुलाई कारण मानेका छन्।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। देशभरि महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ।

न्यून सङ्ख्यामा रहेका तेस्रो लिङ्गीबारे जनगणनाको प्रारम्भिक विवरणमा केही खुलाइएको छैन।

महिलाको सङ्ख्या बढ्नुको कारण के हो ?
कुनै पनि समाजको सामाजिक तथा आर्थिक अवस्था, जैविक कारण र मानवीय गतिविधिहरूले महिलाको सङ्ख्या बढ्ने क्रम प्रभावित हुने विज्ञहरू बताउँछन्।

समाज जति उन्नत बन्दै गयो लैङ्गिक विभेदको खाडल कम हुँदै जान्छ र हरेक लिङ्गका मानिसमा समान अधिकार र पहुँच कायम हुन्छ। समान अधिकार र पहुँचले मानिसको सङ्ख्यामा प्रभाव पार्ने डा. गुरुङको तर्क छ।

‘विकासले विभेदको ठाउँ साँघुरो बनाउँदै लैजान्छ। त्यसले गर्दा महिला, पुरुष वा सबै लिङ्गका मानिसमा पोषण, शिक्षा, स्वास्थ्य र अन्य कुराहरूको हकमा समान पहुँच पाउँछन्। त्यस पहुँचको असर मानिसको शारीरिक र मानसिक स्वास्थ्यदेखि ऊ कति समय बाँच्छ भन्नेमा पर्छ।’ महिलाहरूको औसत आयु पुरुषहरूको भन्दा लामो हुनुलाई महिलाको सङ्ख्या बढी हुनुको एक कारण इङ्गित गर्छन् जनसङ्ख्याविद् गुरुङ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए। लिङ्गका आधारमा औसत आयु छुट्टाउँदा महिलाको ७४ वर्ष दुई महिना र पुरुषको ६९ वर्ष आठ महिना थियो।

देशमा महिला धेरै हुनुको अर्थ के हो ? 
जनसङ्ख्या वृद्धिदर घट्नेभन्दा बढी हुनुले समाजका हरेक क्षेत्रमा महिला र पुरुषको बराबर सहभागिता र पहुँचले समाज विकासशील भएको सङ्केत गर्ने बताउँछन् समाजशास्त्री डा। तुलसीराम पाण्डे।

समाजमा कुन लिङ्गका मानिस धेरै हुँदा कस्ता लाभ वा हानि हुन्छन् भन्नेबारे ठोस उत्तर नहुने उनको तर्क छ।

ूसमानता र समताका आधारमा चल्ने समाजलाई धेरै फाइदा छ। तर हाम्रो देशमा दशकौँदेखि पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै हुँदा पनि आवश्यक बराबरी कायम हुन सकेको छैन,ू उनले भने।

शिक्षामा असमान पहुँचका कारण लैङ्गिक विभेदको खाडल ठूलो बनेको छ। त्यसैले सङ्ख्यात्मक हिसाबमा महिला बढी हुनुभन्दा ठूलो महत्त्व उनीहरूको सीप विकास र अवसर प्रदान गर्नुमा हुने उनको तर्क हो।

‘क्रमिक रूपमा महिलाहरूको पनि शिक्षामा पहुँच बढ्दो छ। तर अझै पनि पुरुषको हाराहारीमा पुर्‍याउन सकिएको छैन। सीप र शिक्षामा पछाडि छुट्दा महिलाहरूलाई सार्वजनिक काममा पछि परेर घरकै काममा सीमित रहनुपर्ने परिस्थिति विकास हुन्छ। त्यो क्रम भङ्ग गरिनु पर्छ,’ उनले भने।

केही देशमा महिला वा पुरुषको अनुपात असन्तुलित भएका कारण वैवाहिक संस्था प्रभावित भएका विवरणहरू समेत सार्वजनिक भएका छन्। तर नेपालमा त्यो अवस्था नआइसकेको पाण्डेको दाबी छ।

जनसङ्ख्याविद्ले भने महिलाको सङ्ख्या धेरै हुनुको अर्थ ‘उमेरको महिला धेरै छन्’ भन्ने सङ्केत भएको जिकिर गरे।

‘देशमा भएका महिला युवा वा काम गर्न सक्षम समूहका होइनन्। ती महिला अरूमा निर्भर उमेर समूहको भएको बुझ्नुपर्छ,’ डा. गुरुङले बताए।

अर्की सामाजिक अध्येता शारदा सिंहले महिलालाई सामाजिक तथा आर्थिक विकासको महत्त्वपूर्ण सूचकका रूपमा व्याख्या गरेकी छन्।

प्रतिक्रिया