
गृह मन्त्रालयद्वारा व्यापक सरुवा, १३ जिल्लाका सिडिओ फेरिए
काठमाडौं – गृह मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको व्यापक सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको जेठ १३ र २२ गतेको निर्णयअनुसार उपसचिव, प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिव तहका कर्मचारीहरूको विभिन्न जिल्ला र निकायमा जिम्मेवारी हेरफेर गरिएको हो।
निर्णयअनुसार गृह मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव निराजन घिमिरेलाई स्याङ्जा, कुमानसिंह गुरुङलाई कास्की, लक्ष्मी पाण्डे गौतमलाई धादिङ तथा बलराम निरौलालाई भैरहवास्थित अध्यागमन कार्यालयमा सरुवा गरिएको छ।
त्यस्तै मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको समेत जिम्मेवारी परिवर्तन गरेको छ। सरुवाअन्तर्गत १३ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाइएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन तथा आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन गर्न सरुवा र पदस्थापन गरिएको हो।
यस निर्णयसँगै विभिन्न जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालय मातहतका निकायमा प्रशासनिक नेतृत्व परिवर्तन भएको छ।




कागजपत्र |
