

ओलीले छुट्टै नेकपा केन्द्रीय कमिटीको बैठक बोलाउने, बादललाई अर्को काममा खटाइयो

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको छुट्टै बैठक बोलाउने भएका छन्।
सरकारी निवास बालुवाटारमा आफूनिकट सांसदको भेलाका क्रममा उनले पार्टी विभाजन आफूले नगर्ने र आफू अनुपस्थित भएको बैठकमा भनिएको कारबाही पनि नमान्ने भएका हुन्।
भेलामा भएको कुराकानीबारे जानकारी दिँदै सांसद निरु पालले भनिन्,‘हामी भोलीको केन्द्रीय कमिटीको बैठकमा उपस्थित हुने छैनौं, दुई अध्यक्षले संयुक्त रुपमा बैठक डाकेपछि सहभागी बन्छौं। प्रधानमन्त्रीले केन्द्रीय कमिटीको बैठक डाक्ने बताउनुभएको छ।’
एकताका बेला पूर्वएमाले र पूर्वमाओवादीबीच ६०–४० को भागवन्डा भएको र सोहीअनुसार सहमतिका आधारमा बैठक चलाउने, निर्णय लिने भएका कारण बहुमतका नाममा गरिएको निर्णय कारबाहीको हल्लालाई नस्वीकार्ने भेलाका क्रममा चर्चा भएको थियो।
बालुवाटारमा भएको भेलामा गृहमन्त्री रामबहादुर थापाको अनुपस्थितिका विषयमा सोधिएको प्रश्नमा पालले ‘उहाँ प्रधानमन्त्रीसँगै रहेको नत्र राजीनामा दिनु हुने थियो’ भनिन्। ‘प्रधानमन्त्री ज्युले उहाँलाई छुट्टै काममा खटाउनुभएका कारण उपस्थित हुन नसक्नु भएको हो’, पालले भनिन्।
बालुवाटारमा भेला चलिरहेका बेला बादलले पूर्वमाओवादीभित्रको आफ्नो समूहका सांसद र नेतासँग मन्त्री क्वार्टर पुल्चोकमा छलफल गरेको विवरण सतहमा आएको छ। छलफलका दौरान प्रधानमन्त्री ओलीलाई नै सहयोग गरेर जानुपर्ने चर्चा चलेको थियो।

