कांग्रेसका उपसभापति र महामन्त्रीहरूले देउवालाई भने : वैशाखमै स्थानीय तहको चुनाव हुनुपर्छ


काठमाडौं – नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई स्थानीय तहको चुनाव तोकिएकै समयमै गर्न सुझाव दिएका छन् ।

शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकपछि देउवासँग दुईजना उपसभापति र दुईजना महामन्त्रीले भोलिको गठबन्धनसँगको बैठकमा स्थानीय तहको चुनावमा आगामी वैशाखमै हुनुपर्ने धारणा राख्न सुझाव दिएका हुन् ।

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवासँग छलफल गरेका हुन् ।

छलफलमा सहभागी महामन्त्री थापाले आफूहरूले दिएको सुझावमा सभापति देउवा सकारात्मक रहेको बताए ।

‘स्थानीय तहको निर्वाचनका सम्बन्धमा अहिले गठबन्धनमा जे जे कुरा भइरहेको छ । जुन जुन विकल्पमा छलफल भयो भनेर सञ्चारमाध्यमबाट बाहिर आएका छन् । यी कुनै पनि विषय संविधानसम्मत छैनन् । हामीले कानुन संशोधन गरेर स्थानीय तहको चुनावबारे निर्णय गर्‍यौँ भने यो संविधान सम्मत हुँदैन,’ थापाले भने, ‘संविधानसम्मत नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनै पनि कारण छैन । यही कुरा हामीले सभापतिज्यूलाई भनेका छौँ । र, गठबन्धनका नेताहरूले पनि संविधान बाझिनेगरी कुनै काम गर्ने छैनन् भन्ने मलाई विश्वास छ ।’

प्रतिक्रिया