शेयर बजारमा झिनाे सुधार, तीन अङ्कले बढेकाे नेप्से २७ सय ७९.९३ काे विन्दुमा


काठमाडाैं – चार दिनसम्म लगातार घटेको शेयर बजार काराेबार हुने हप्ताको अन्तिम दिन भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन दशमलव २९ अङ्कले बढेर दुई हजार सात सय ७९ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज निर्जीवन बीमा समूहकाे शेयर सबैभन्दा धेरै एक सय ३२ अङ्कले बढ्दा फाइनान्स, जलविद्युत्, उत्पादन, अन्य समूहको शेयर सामान्य बढेको छ । फाइनान्स समूहकाे शेयर १४, जलविद्युतकाे पाँच, उत्पादनकाे २५ र अन्य समूहकाे शेयर १७ अङ्कले बढेकाे छ ।

आज ६६ लाख ७५ हजार कित्ता शेयर तीन अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेशनल लाइफ इन्स्याेरेन्सको २० करोड रुपैयाँको शेयर किनबेच भयो ।

विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर आज पनि १० प्रतिशतले बढेको छ । सप्तकोसी विकास बैंकको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया