बालाजुमा पार्किङमा राखेको गाडी आफैँ गुड्यो, च्यापिएर चालकको मृत्यु


काठमाडौं – बालाजु औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर राखेको ग्यास बुलेट अचानक गुड्दा चालकको ज्यान गएको छ। मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दीलिप राजवंशी रहेको प्रहरीले जनाएको छ।

आज बिहान पौने चार बजे औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा बुलेट एकाएक गुडेर अर्को ग्यास बुलेटमा ठोकिँदा चालक राजवंशीको च्यापिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए।

चालक राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। डिएसपी मिश्रका अनुसार औद्योगिक क्षेत्रमा दुई वटा ग्यास बुलेट पार्किङमा थिए।

भारतीय नम्बर एनएलओ २ क्यु ३७२० र एनएलओ २ क्यु ३७२९ बुलेटको बीचमा राजबंशी च्यापिएका थिए। अर्को बुलेट चालक एमडी मुखीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया