

दाङमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी, मुख्यमन्त्री केसीले गरे पहिलो मतदान

दाङ – लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बिहान ९ बजेबाट सुरु भएको छ। दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो।
मतदान दिउँसो ३ बजेसम्म चल्ने र त्यसपछि मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकृत गेहेन्द्र कँवरले जानकारी दिए।
जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्दै मतदानको व्यवस्था मिलाइएको छ। पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गरेका थिए। प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोख्रेलले पनि मतदान गरेका छन्।
प्रदेशमा नेकपा एमाले र सत्ता गठबन्धनको तर्फबाट ६ जना चुनावी मैदानमा छन्। महिला, अन्य र दलित गरी ३ जना चयन गर्नको लागी मतदान भइरहेको हो।
नेकपा एमालेबाट दलिततर्फ गुल्मीका कृष्ण सुनार, महिलातर्फ बाँकेकी भारती उपाध्याय खनाल र अन्यका लागि दाङका रामदयाल गुप्ता चुनावी मैदानमा छन्। सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बाँके निवासी युवराज शर्मा, नेकपा ९एकीकृत समाजवादी०बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाबाट रूपन्देहीका तुलप्रसाद विश्वकर्मा चुनावी मैदानमा छन्।
प्रदेशमा २९६ जम्मा मतदाता छन्। जसमध्य ८१ जना प्रदेशसभा सदस्य र २१५ जना स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता छन्। ८१ जना प्रदेशसभा मध्य नेकपा एमालेका ३७ जना र गठबन्धनका ४४ प्रदेशसभा सदस्य छन्।

