राष्ट्रियसभा निर्वाचनको मतदान सुरु, आजै नतिजा आउने


काठमाडौं – राष्ट्रियसभा सदस्यको १९ पदका लागि आज मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि नै मतदान सुरु भएको छ।

निर्वाचन अन्तर्गत् सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई रङको मतपत्रको व्यवस्था गरिएको छ।

रातो रङ पालिका प्रमुख उपप्रमुखका लागि र हरियो रङको मतपत्र प्रदेश सभासदस्यका लागि व्यवस्था गरिएको छ। निर्वाचनको परिणाम आजै रातिसम्ममा आउने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलले आ९आफ्नो समिकरण बनाई उम्मेदवार बनाएका छन्। आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो।

सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ। सङ्घीय संसद्‍मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचनमा प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

प्रतिक्रिया