
कोभिड संक्रमण भएको कति समयपछि लगाउने खोप ?
काठमाडौं – कोभिड १९ को संक्रमणबाट हुने जटिलताबाट बच्न हालसम्म खोपलाई नै मुख्य रक्षक मानिएको छ । कोभिड १९ विरुद्धको खोप लगाइसकेका व्यक्तिमा संक्रमण भइहाले पनि सिकिस्त हुने र अस्पताल भर्ना हुने सम्भावना कम रहने प्रमाणित भइसकेको छ ।
यो अवस्थामा संक्रमण भएको कति समयपछि खोप लगाउने भन्ने अन्यौलता पनि धेरैमा देखिन्छ ।
विश्व स्वास्थ्य संगठनले एकपटक पनि खोप नलगाएका व्यक्तिमा कोभिड १९ को संक्रमण भए संक्रमणमुक्त भएको ६ महिनापछि खोप लिन सिफारिस गरेको छ । पहिलो डोज लगाएको व्यक्ति संक्रमित भएमा संक्रमणमुक्त भएको आठ हप्तापछि दोस्रो डोज लगाउन सुझाइएको छ ।
त्यस्तै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले एकपटक पनि खोप नलगाएका व्यक्तिले संक्रमणमुक्त भएको ९० दिनपछि खोप लिन सिफारिस गरेको छ । कोभिड १९ विरुद्धको बुस्टर डोजबारे भने अहिले स्पष्ट अध्ययन भइसकेको छैन ।
तर, खोप उत्पादक मुलुक तथा कम्पनीका वैज्ञानिकहरूले भने कोभिड १९ संक्रमणपछि व्यक्तिको शरीरमा बनेको एन्टिबडीले काम गर्ने अवधिका आधारमा संक्रमणमुक्त भएको ३ महिनापछि लगाउन चिकित्सकहरू सुझाव दिन्छन् ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अहिलेसम्म देखिएको केसका आधारमा एकपटक संक्रमित भएको व्यक्तिमा बनेको एन्टिबडीले कम्तीमा ३ महिनासम्म रोग प्रतिरोधीको काम गर्ने बताउँछन् ।
‘कतिपयमा लक्षण नदेखिएर पनि संक्रमण भइरहेको हुन्छ । यस्तो अवस्थामा व्यक्तिले आफूलाई संक्रमण भएको थाहा नपाएर पनि खोप लगाइरहेका हुन्छन्, यसरी लगाइएको खोपले असर भने गर्दैन,’ डा. पुनको भनाइ छ ।



कागजपत्र |
