

नेपालको शासकीय प्रणालीमा सुधार गर्नुपर्छः डा. भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नुपर्छ भन्ने देखाएको बताएका छन्।
प्रधानमन्त्री केपी ओलीले आइतबारको मन्त्रिपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए।
भट्टराईले उनको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नुपर्ने देखाएको र त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्णसमानुपातिक संसद व्यवस्था हुनुपर्ने बताए।
‘यसमा मेरो निजी विचार रहँदै आएको छ। अहिलेको प्रधानमन्त्रीको कदमले नेपालको शासकीय प्रणालीमा रहेको त्रुटी र त्यसलाई सच्याउनुपर्ने कुरा फेरि पुष्टि गर्छ,’ भट्टराईले ट्विटरमा भिडिओमार्फत् भनेका छन्।
उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले यसमा सबै राजनीतिक दल र नागरिकलाई सुधार गर्न आवाज उठाउन अपिल गरेका छन्।

