

प्रधानमन्त्री देउवाले एक वर्षमै तीन तहको निर्वाचन गर्ने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि छ ।
शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘निर्वाचनका पूर्वतयारीका कामहरू सम्पन्न गर्न आफु सम्बन्धित सबैसँग अनुरोध गरेका छन् । संघीता कार्यान्वयनलाई थप सुदृढ बनाउन संघीय सरकारले प्रदेश र स्थानीय तहलाई सक्रिय बनाउने उनले बताए ।
प्रधानमन्त्री देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने बिषयलाई आफूले विशेष प्राथमिकतामा राखेको बताए । संसद् सुचारु भएपछि सबै दलसँग छलफलको माध्यमबाट विचाराधीन विषयहरूलाई निचोडमा पुर्याउने उनको दावी छ ।
संविधानको कार्यान्वयन, कानुनी राज्य र सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता समेत जनाए।
विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्याको समाधान गर्ने, संघीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
गत असार २९ गते पाँच राजनीतिक दलको समर्थनमा कांग्रेस पार्टी सभापति देउवाको नेतृत्वमा गठन भएको सरकारले ६ महिना पूरा गरेको हो। यस अवधिमा देशवासीका नाममा उनको यो पहिलो सम्बोधन हो।
विश्व कोभिड— १९ महामारीको प्रथम, दोस्रो र तेस्रो लहरबाट आक्रान्त भएको छ। नयाँ स्वरूपको ओमिक्रोन संक्रमणको उच्च जोखिमले नागरिकमा चुनौती बढेकाले सबै मिलेर नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
सबै राजनीतिक दल र समुदायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड इमान्दारीपूर्वक पालना गर्न समेत उनले आग्रह गरेका छन् । कांग्रेसले नेतृत्व गरेपछि आर्थिक–सामाजिक रूपान्तरणको आधार बलियो भएको बताउँदै उनले महँगी नियन्त्रण गर्ने तथा भ्रष्टाचारजन्य कार्यहरूको अन्त्य भएको दाबी गर्नु भएको छ ।यो समाचार अन्नपूर्ण पोष्टमा छ ।

