

खुमलटारबाट गृहमन्त्री बादल क्वार्टरमा पुगे प्रधानमन्त्री ओली

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासबाट निस्किएर प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा बादलको पुल्चोकस्थित सरकारी क्वार्टरमा पुगेका छन्।
नेकपाभित्रको आन्तरिक विवाद समाधानका निम्ति तटस्थ रहेका सचिवालय सदस्य बादललाई भेटी मन्त्रिपरिषद पुनर्गठनका विषयमा प्रधानमन्त्री ओलीले सल्लाह गरेको स्रोतको दाबी छ।

मन्त्रिपरिषद पुनर्गठनका क्रममा उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमलाई दिने प्रचण्डसँगको सहमति बनेको र सोहीअनुसार सहजीकरण गरी अर्को मन्त्रालयमा स्थानान्तरण भइदिन बादललाई ओलीले आग्रह गरेको बताइएको छ।
१२ बजेर ४० मिनेटमा छिरेका ओली १ बजेर १५ मिनेटमा निस्किएका हुन्। करिब ३५ मिनेट गृहमन्त्री बादलसँग ओलीको संवाद भएको थियो।
यद्यपि भोलीको स्थायी समिति बैठकलाई केन्द्रमा राखेर नै कुराकानी भएको पनि दाबी गरिएको छ। खुमलटारमा पार्टीभित्रको विवाद समाधान र मन्त्रिमण्डल पुनर्गठनको विषय प्याकेजमा नै सहमति गर्न सकिने सल्लाह भएको थियो।

