समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीले लिए शपथ


काठमाडौं – समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष तथा पदाधिकारीले शपथ लिएका छन् । आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले पदाधिकारीलाई शपथ गराएका हुन् ।

सो अवसरमा उपमहासचिव पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताए । उनले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर देश र जनताप्रति सेवाको भावनाले क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्दै राजनीतिक रूपमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिए ।

उपमहासचिव पौडेलले मुलुकलाई समुुन्नत बनाउन यही प्रणालीबाट सुशासन कायम गर्न सकिने बताए । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षण गर्नुका साथै उनीहरूलाई देशभर सङ्गिठत गरी बलियो सञ्जाल विस्तार गर्ने योजना रहेको बताए ।

महासचिव भुपराज खड्काले सङ्गठनले आगामी फागुन ७ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागकाले त्यसको तयारी भइरहेको जानकारी दिए । बाइस सदस्यीय पदाधिकारी रहेको उक्त सङ्गठनमा काठमाडौंमा उपलब्ध पदाधिकारीले शपथ लिएका हुन् ।

प्रतिक्रिया