पुटिनले युक्रेनमा हस्तक्षेप चाहे पनि पूर्ण आकारको युद्ध चाहेका छैनन् : बाइडन


एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनविरुद्ध पूर्ण युद्ध चाहेको आफूलाई नलागेको बताएका छन्।

बाइडेनले राष्ट्रपतिका रुपमा कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध हस्तक्षेप गर्न चाहे पनि पूर्ण युद्ध चाहेको भने आफूलाई नलागेको बताएका हुन्।

उनले भने, ‘रुसी राष्ट्रपति पुटिन युक्रेन मामिलामा निश्चित हस्तक्षेपमा अघि बढ्लान तर पूर्ण युद्ध चाहन्छन् भन्ने मलाई लाग्दैन।’ बाइडेनले रुसले युक्रेनमाथि हस्तक्षेप गर्दा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए।

बाइडेनको भनाइपछि पत्रकारहरुले के त्यसो भए अमेरिकाले एउटा सानो आक्रमण स्वीकार्छ भन्ने जिज्ञासा राखेका थिए। यो जिज्ञासामा आफ्नो अडान स्पष्ट पार्न ह्वाइटहाउसलले पछि एउटा विज्ञप्ति जारी गरेको थियो। जसमा ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन साकीले रुसी सेना युक्रेनभित्र प्रवेश गरेमा अमेरिका र उसका साझेदारबाट तत्काल, कडा र एकीकृत जवाफ दिइने बताएकी थिइन्।

बाइडेनले युक्रेनमाथि आक्रमण भएमा रुसमाथि अहिलेसम्मै नदेखिएको प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्। रुसले भने युक्रेनमाथि आक्रमण गर्न लागेको भन्ने अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ।

प्रतिक्रिया