नेविसंघले भन्याे : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तुरुन्त फिर्ता गर


काठमाडाैँ – सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ। नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गरी कोरोना महामारीका बेला नेपाल आयल निगले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनविरोधी कार्य गरेको भनी भर्त्सना गरेका हुन्।

अत्यावश्यकिय उपभोग्य वस्तुम पटकपटक गरिएको मूल्य वृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुरेको उल्लेख गर्दै विज्ञप्तिमा सरकारलाई मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ।

आहतका बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त हुँदै निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको आरोप नेविसंघले लगाएको छ।

साथै विज्ञप्तिमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएपछि सबै क्षेत्रमा चर्को मूल्यवृद्धि हुन सक्ने आशंका पनि गरिएको छ।

संघका महामन्त्री तिमल्सिनाले निगमले स्वचालित मूल्य प्रणालीको हवाला दिए पनि कालो बजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरीकरण कोषमा सञ्चित रकमको उपयोग, अनावश्यक करहरूको शीर्षक कटौतीतर्फ नेपाल आयल निगमले कुनै पहल नगरेको आरोप लगाएका छन्।

कोरोना महामारीको तेस्रो लहरले प्रभावित उपभोक्तालाई सर्वसुलभ सेवा, सहुलियत र राहतको जरुरत रहेकोमा उल्टो थप पीडा दिनेगरी निगमले बढाएको मूल्य तत्काल फिर्ता गराउन सरकारसँग नेविसंघले माग गरेको छ।

प्रतिक्रिया