

प्रचण्ड–नेपाल समूहले बोलाएको भेलामा किन गएनन् उपाध्यक्ष गौतम?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पेरिसडाँडामा बोलाएको भेलामा उपाध्यक्ष बामदेव गौतम अनुपस्थित भएका छन्।
नेकपाभित्रको आन्तरिक विवाद चरम बन्दै गएपछि १ नम्बर प्रदेशका ओलीइतरका नेता–कार्यकर्ताको भेला बोलाइएको थियो।
उक्त भेलामा उपाध्यक्ष गौतम अनुपस्थित भएका हुन्। नेकपा सचिवालयमा प्रचण्डको पक्षमा उभिएका गौतमले यसलाई पनि गुटगत भेलाका रुपमा नै व्याख्या गरेको स्रोतले दाबी गरेको छ। ‘पार्टीमा विवाद समाधानको उपाय भनेको गुटको भेला होइन, पद्दतीको भेला हुनुपर्छ भन्ने मान्यताका आधारमा उहाँ नजानु भएको हो’, स्रोतले भन्यो।
भेलामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध डटेर सामना गर्नका लागि तयार रहन प्रचण्डले भनेका थिए। उनले स्थायी समितिको बैठकमा दुई वटा लिखित दस्ताबेज रहेको भन्दै त्यसमा विचार बनाएर अघि बढ्नका लागि प्रचण्डको आग्रह थियो।
भेलाले ओलीविरुद्धको मोर्चाबन्दी बलियो बनाएर जाने छलफल चलाएको थियो। ‘यसलाई गुटको भेला भन्न मिल्दैन, विधि र पद्दतीको आधिकारिक भेला भन्नुपर्छ’, नेता जगन्नाथ खतिवडाले भने,‘यो भेलामा उपाध्यक्ष गौतम नआउनुको कारण थाहा भएन।’
उक्त भेलामा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिएनन्। नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि सम्बोधन गरेका थिए।

