दर्शकबिनै यो वर्षको आहा! रारा गोल्डकप


पोखरा – २० औं संस्करणको आहा! रारा गोल्डकप प्रतियोगिता दर्शकबिना नै हुने भएको छ। आयोजक सहारा क्लबले मंगलबार पत्रकार सम्मेलनमार्फत यो घोषणा गरेको हो।

प्रतियोगिता यही बिहीबारदेखि माघ १५ गतेसम्म पोखरा रंगशालामा हुँदैछ। क्लबका अध्यक्ष सुरज गुरुङले राज्यले जारी गरेको स्वास्थ्य मापदण्ड ख्याल गर्दै यो निर्णय गरिएको बताए।

‘हाम्रा लागि दर्शक र प्रतियोगिता उत्तिकै महत्वपूर्ण कुरा हुन्। त्यसो भन्दैमा हामी आमनागरिकको स्वास्थ्यमा खेलबाड गर्न चाहँदैनौँ’,अध्यक्ष गुरुङले भने,‘सहारा क्लब फुटबल विकासमा निरन्तर लागेको छ। खेलकुदलाई रोक्न हुन्न भन्ने लक्ष्यका साथ दर्शकबिना पनि प्रतियोगिता गर्न लागेका हौँ।’

कोरोनाको असर कम भएमा स्टेडियममा दर्शकको स्वागत गरिने उनले बताए। ‘सुरुमा बिनादर्शक खेलाउँछौँ। महामारी घटेमा पुनः दर्शकका लागि खुल्ला गर्नेछौँ, ’ उनले भने।

प्रतियोगितामा अमेरिकाको बीवाइएससी मिनेसोटा, आयोजक सहारा क्लब पोखरा, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, संकटा क्लब, मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, हिमालयन शेर्पा र थ्रीस्टार क्लबको सहभागिता रहनेछ।

प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। प्रतियोगितामा आयोजक, एक विदेशीसहित ८ ए डिभिजन क्लबहरुको सहभागिता रहने भएको छ।

प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्नेछन्। प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार आम्दानी र १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान रहेको अधिकारीले बताए।

क्लबले १९ वर्षदेखि वेसहारा बालकहरुका लागि फुटबल प्रशिक्षणका साथै एकेडेमी सञ्चालनार्थ प्रतियोगिता गर्दै आएको छ। एकेडेमीमा हाल १४ जिल्लाका २४ बालक आश्रित छन्।

फाइल फाेटाे

प्रतिक्रिया