

५ देखि ११ वर्षका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिने तयारी

काठमाडाैँ – सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका किशोर(किशोरीलाई यसअघि नै कोभिडविरुद्धको खोप दिइसकेको छ।
विश्वका विभिन्न मुलुकले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजरको खोप दिइसकेका छन्। ५ वर्षमाथिका बालबालिकालाई लगाउने गरी सरकारले खोप खरिदको प्रक्रिया अघि बढाएको हो।
स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दुई मात्रा पुग्ने ८० लाख मात्रा खोप खरिदको प्रस्ताव फाइजर कम्पनीसँग गरेको छ। खोप खरिद सम्झौताका लागि फाइजरले दुई महिनाको समय माग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
५ देखि ११ वर्षका बालबालिकाका लागि ०।२ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजरले जनाएको छ। १२ वर्षभन्दा माथिका बालबालिकालाई भने फाइजरले ०.३ एमएलका दरले दुई डोज तोकेको छ।
नेपालमा ११ वर्षमुनिका बालबालिकालाई पनि कोभिड संक्रमण बढ्न थालेको छ। सोमबार देशभर ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएकामा ११ वर्षमुनिका बालबालिकाको संख्या ८७ छ।

