

नगरप्रमुखसहित १६ जनामा कोरोना संक्रमण भएपछि सन्धिखर्क नगरपालिकाको सेवा बन्द

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगरप्रमुखसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि यही माघ ८ गतेसम्म नगरपालिकाका सेवा बन्द हुने भएको छ ।
नगरप्रमुख कमलप्रसाद भुसालसहित १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू माघ ८ गतेसम्मका लागि बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
नगरप्रमुख कमलप्रसाद भुसाललाई कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाले आज ५७ जनामा एन्टिजेन परीक्षण गरेको थियो । १७ जनामा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य शाखाप्रमुख पूर्णप्रसाद पराजुलीले बताए ।
नगरपालिकाद्वारा जारी गरिएको सूचनामा सन्धिखर्क नगर कार्यपालिकाको निर्णयअनुसार माघ ४ देखि लागू हुने गरी माघ ७ गतेसम्म नियमित कामकाज तथा सेवा बन्द गर्ने निर्णय भएको हो । माघ ८ गते शनिबार परेको छ । माघ ९ गते आइतबारदेखि नगरपालिकाको नियमित कामकाज हुनेछ ।
साथै नयाँ भेरियन्टसहितको जोखिम सन्धिखर्क नगरपालिकाभित्रमा पनि देखिन सक्ने भएकाले उच्च सतर्कता अपनाउन नगरपालिकाले नगरवासीमा अनुरोधसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।

